सूचना
मैवाखोला गाउँपालिकाका अध्यक्ष श्री विजय प्रकाश वनेमज्यूद्वारा ओदक पहिरो पीडितको स्थायी पुनःस्थापनाका लागि गृहमन्त्री समक्ष पहल, मन्त्रीद्वारा कार्यान्वयन प्रक्रिया अघि बढाउन निर्देशन
मिति: २०८३ वैशाख ८
आज मैवाखोला गाउँपालिकाका अध्यक्ष श्री विजय प्रकाश वनेमज्यूले माननीय गृहमन्त्री सुधन गुरुङज्यूसँग उहाँकै कार्यकक्षमा भेट गरी ओदकका पहिरो पीडितहरूको विद्यमान नीतिगत अवस्था र स्थायी पुनःस्थापनामा देखिएका कठिनाइहरूका बारेमा अवगत गराउनुभयो। भेटमा अध्यक्ष वनेमज्यूले विस्थापित परिवारहरू लामो समयदेखि अस्थायी बासस्थानमा बस्न बाध्य रहेको भन्दै उनीहरूको सुरक्षित र स्थायी पुनःस्थापनाका लागि आवश्यक नीतिगत निर्णय लिन गृहमन्त्रीज्यूको ध्यानाकर्षण गराउनुभएको हो।अध्यक्षज्यूको अनुरोधलाई सकारात्मक रूपमा लिँदै माननीय गृहमन्त्री सुधन गुरुङज्यूले सचिवज्यू मार्फत राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई उक्त प्रस्ताव सम्बन्धमा आवश्यक तयारी गरी विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिमा प्रस्ताव पेश गर्न तत्काल निर्देशन दिनुभएको छ।यस निर्देशनले ओदकका पहिरो पीडितहरूको स्थायी पुनःस्थापनाका लागि थप बाटो खुलेको छ र पीडितहरूमा नयाँ आशाको सञ्चार भएको छ। गाउँपालिकाले यस विषयलाई निरन्तर फलोअपमा राख्दै आवश्यक सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएको छ।
